साउन १९, काठमाण्डौं । १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
प्रतियोगिता राष्ट्रको इज्जतसँग जोडिएको विषय भएकाले त्यसलाई तोकिएको समयमा सफलतापूर्वक सम्पन्न हुनेगरी तयारी गर्ने कार्यमा सरकारलाई सघाउ पुर्याउने उद्देश्यका साथ समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी छन् । खेलकुद प्रतियोगिता आउँदो मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ । त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश पनि उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताइन् ।
बैठकमा समितिका सदस्यहरुले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।
समितिका सदस्य खगराज अधिकारीले प्रतियोगिताका खेलाडीहरुको तयारी र पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।
समितिका अर्का सदस्य उमेश श्रेष्ठले खेलकुद प्रतियोगिताको तयारीका लागि अन्तराष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिए । उनले देशको प्रतिष्ठासँग जोडिएका यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।