२२ असोज, विराटनगर ।
ओमानमा जारी पाँच देश सम्मिलित टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बुधबार भएको आफ्नो तस्रो खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ।
आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो।
नेपालका लागि आरिफ शेखले २६, पारस खड्काले २५, इशान पाण्डेले २२, दिपेन्द्रसिंह ऐरीले १९ र करण केसीले १६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
आयरल्याण्डलाई जिताउन बलिङतर्फ आयरल्याण्डका जर्ज डोकरे र मार्क एडैरले तीन–तीन तथा ग्यारेथ डिलनी दुई विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो।
आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाए। तल्लो क्रमका स्टुवार्ट थम्पसनले २१ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र अविनाश बोहोराले दुई–दुई विकेट लिएका थिए। करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका थिए।
नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो। तेस्रो खेलमा भने नेदरल्यान्ड्सलाई हराएको थियो।