Nepal Times
Nepal Times
3
Shares

झापाका युवा वैज्ञानिकले बनाए हात्ती धपाउने साइरन ड्रोन, परीक्षण सफल

झापाका युवा वैज्ञानिकले बनाए हात्ती धपाउने साइरन ड्रोन, परीक्षण सफल

२ कात्तिक, झापा ।
झापामा एक जना युवा वैज्ञानिकले हात्ती धपाउने साइरन ड्रोन निर्माण गरेका छन् । सफल परीक्षण समेत भईसको साइरन जडित सो ड्रोन भद्रपुर नगरपालिका १ निवासी अनिल प्रधानले बनाएका हुन् ।
जंगली हात्ती धपाउन सो ड्रोनको अत्यन्त प्रभावकारी रहेको बताउँदै प्रधानले भने, ‘मेरो घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामा नै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो ।’ उनले यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्दा परिणाम आएको बताए । यसैक्रममा मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने पत्ता लगाए । यही मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको छ । यसरी जडान गरिएको ड्रोनमा रातो बत्ती समेत प्रयोग गरिएको छ ।

ड्रोन हात्तीको नजिकै लगेर उडाएपछि मौरी आएको त्रासमा हात्ती जंगल तिर भाग्ने गरेको प्रधानले बताए । उनका अनुसार सो ड्रोनको रिमोटले पाँच किलोमिटर दुरीसम्म काम गर्ने भएकाले आफुपनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिन्छ ।

यही परिक्षणबाट नयाँ प्रबिधिको प्रयोग सफल भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । हात्तीलाई कुनै क्षति बिना भगाउन सकिने यो सबैभन्दा प्रभावकारी उपाय भएको उनको दाबी छ । डिभिजन वन कार्यालय झापाको समेत सहभागितामा स्थानीय बासिन्दा सहितको टोली हात्ती धपाउन साइरन ड्रोनको परीक्षण गरेका थिए ।

यसको पहिलो पटक बिहीबार र शुक्रवार राती जंगली हात्ती धपाउने औपचारिक परीक्षण सफल भएको छ । परीक्षणको क्रममा शुक्रवार राती साढे दुई बजे भद्रपुर नगरपालिका कै जलथल क्षेत्रमा आएको पाँचवटा जंगली हात्ती धपाएको थियो । यस्तै बिहीबार राती मेची नपाको दुवागढीमा आएको सातवटा जंगली हात्ती धपाउन सफल भएको थियो ।

कक्षा १२ मा अध्यायनरत प्रधानको सानैदेखि अन्वेषणको बानी थियो । प्रधानको प्रतिभा देखेपछि भद्रपुर नगरपालिकाले समेत साइरन ड्रोन निर्माणकालागि आर्थिक सहयोग प्रदान गरेको भद्रप्ुर नपाका मेयर जीवन कुमार श्रेष्ठले बताए । नगरपालिकाको लागानी भएकाले ड्रोनमा भद्रपुर नपा साइरन ड्रोन लेखिएको छ । यही सहयोगबाट ड्रोनका लागि आवश्यक सामान खरीद गरि कुल अढाई लाखको लागतमा निर्माण गरिएको प्रधानको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.