हङकङविरुद्ध नेपालको मध्यम योगफल

हङकङविरुद्ध नेपालको मध्यम योगफल

३० कात्तिक, विराटनगर ।
नेपालले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूहको दोस्रो खेलमा हङकङविरुद्ध मध्यम योगफल खडा गरेको छ ।

मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर शतकनजिक पुगेर अन्तिम ओभरमा आउट हुँदा  नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा मिडअन क्षेत्रमा क्याच आउट हुनुअघि उनले १ सय ३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे ।

शरदले आफ्नो इनिङका दौरान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग दुई महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएको थियो । एक समय तेस्रो ओभरमा ३(२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो ।

नेपालले दुवै ओपनरलाई विपक्षी कप्तान एजाज खानको बलिङमा गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा एजाजकै हातबाट क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् ।

उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए । एजाजको दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड भए । त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भएका थिए ।

दीपेन्द्र ब्याटिङ गर्ने क्रममा केहि अगाडी बढ्द अफताबले वाइड बल फ्याँकेपछि विकेटकिपर शहिद वासिफले उनलाई स्टम्पिङ आउट गरेका थिए ।

आरिफ र शरदले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरतर्फ लम्काएका थिए । आरिफले ४८ बलमा ४२ रन जोडेका थिए । उनले यसक्रममा ३ चौका र ३ छक्का प्रहार गरे ।

आरिफ स्पिनर एहसान खानको बलमा विकेटकिपरको हातबाट समातिएका थिए । आरिफको विकेट पतनपछि पवन सर्राफ ३ बलमा खाता नखोल्दै पेभेलियन फर्किए । उनले रौनक कपुरको बलमा रिटर्न क्याच दिए ।

विनोद भण्डारी पनि सर्ट मिड विकेटमा क्याचआउट भए । उनले १३ बलमा एक चौकासहित १५ रनको योगदान दिए । करण केसी १२ बलमा ७ रन जोड्दै क्याचआउट भए । सुशन भारीले ६ र ललित राजवंशीले १ रन जोड्दा अभिनाष बोहोरा २ रनमा नटआउट रहे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.