२ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो । गएको चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको यो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको र सोमबार औपचारिकरूपमा उद्घाटनको कार्यक्रम तय गरिएको जानकारी दिए । आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ ।
अनुमानित लागत १२ अर्ब ६० करोड रुपैयाँ (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
सुरुमा विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत चिनियाँ कम्पनीसँग आठ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ (आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो । शुरुमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो ।
प्राधिकरणका अनुसार यो आयोजनाबाट करिब नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब रुपैयाँ आम्दानी गर्छ । आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाण्डौ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

