३ मंसिर, सप्तरी ।
भारतले सीमा क्षेत्रमा जग्गा अतिक्रमण गरेको विषयले चौतर्फी चर्चा पाईरहेका बेला सप्तरीमा पनि नयाँ सीमा स्तम्भ निर्माणको नाममा नेपाली भूमि अतिक्रमण भएको पाइएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्वर ४ लालापट्टीदेखि तिलाठीसम्ममा नयाँ स्तम्भ गाड्ने क्रममा झण्डै ६० विघा नेपाली भूमि अतिक्रमणमा परेको खुलेको हो ।
विसं. २०५० सालमा भारतीय पक्षले सिमानामा रहेको स्तम्भ हेरफेर गर्न खोज्दा सप्तरीको तत्कालीन लालापट्टी गाविसका स्थानीयहरुले विरोध गरेका थिए । विरोधकै क्रममा भारतीयले गोली प्रहार गरेपछि ४१ वर्षीय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँका धनदेव यादव पनि गोलीको छर्रा लागेर घाईते भएका थिए । त्यसपछि भारतीयले दिनमा जबरजस्ती नेपाली भूमि मिचेर स्तम्भ गाडेर जाने र रातभरि लालापट्टीबासीले स्तम्भलाई उखेलेर पूरानै ठाउँमा गाडिदिने क्रम महिनौसम्म चलेको थियो । पछि सम्झौता भएर सीमा स्तम्भ पूरानै ठाउँमा गाडिएपनि केहि वर्षदेखि नयाँ स्तम्भ गाड्ने नाममा नेपाली भूमि अतिक्रमण गर्ने कार्य भईरहेको स्थानीय उचित यादवले बताएका छन्। लालापट्टीदेखि पूर्वमा तिलाठीसम्म दशगजा हुँदै बग्ने त्रियुगा नदीले पूराना स्तम्भहरु वगाउने गरेकाले भारतीय पक्षले ठूला, मझौला र साना पिल्लरहरु गाडेर नेपाली भूमि अतिक्रमण गर्ने गरेको उनीहरुको भनाई छ ।
यसबाहेक पनि राति राति ‘नो म्यान्स एरिया’ खनजोत गरेर भारतीय पक्षले धानबाली गर्दै आएको छिन्नमस्ता गाउँपालिका वडाध्यक्ष रामनाथ पण्डितले बताए । भारतीय पक्षबाट वर्षौदेखि हुदै आएको ज्यादती बिरुद्ध स्थानीय प्रशासनले कुनै तदारुकता नदेखाएको स्थानीयले गुनासो गरेका छन् । यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले अन्तर्राष्टिय विषय रहेकोले यसबारे आफुलाई बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन । सप्तरीमा ठूला, मझौला र साना गरी ६ सय ५० मध्ये चार सय ४८ वटा सीमा स्तम्भ हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको तथ्याङ्कमा उल्ल्ेख छ । जसमा कोसी नदीमा रहेको २१२ नम्बरको स्तम्भ र बलान नदीमा रहेको २४५/१ र २४५/२ नम्बरको स्तम्भ नदीले वगाएको छ भने पातो र रामनगर कोदरकट्टीमा रहेको दुई वटा स्तम्भ गायब रहेको जनाएको छ ।

