१६ मंसिर, विराटनगर ।
विराटनगर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाउने गरी विकास र विस्तारका लागि गुरुयोजना तयार भएको छ । सोमबार विराटनगरमा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहितको उपस्थितीमा नागरिक उड्डयन प्राधिकरणले प्रस्तावित गुरुयोजना सार्वजनिक गरेको हो । सन २०४० सम्ममा २५०० मिटरको धावनमार्ग र १५ हजार स्क्वायर मिटरको टर्मिनल भवनसहितको प्रस्तावित गुरुयोजना पेश गरिएको हो । विस्तारका लागि ३३ अर्ब ३३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
विराटनगर विमानस्थलको विकास र विस्तारका लागि तयार पारिएको गुरुयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुरुयोजना २०४० सम्मको भएपनि विराटनगर विमानस्थललाई आगामी ५ वर्ष तथा सन २०२५ सम्ममा क्षेत्रिय विमानस्थल बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । क्षेत्रिय बिमानस्थल भएपनि अन्तराष्ट्रिय उडान गर्न सकिने बताउँदै क्याबिनेटबाट गुरुयोजना पास भएपछि प्रदेश सरकारले आवश्यक जग्गाको अधिग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले एकवर्ष अघि नै विमानस्थल विस्तारका लागि संघीय सरकारलाई सुझाव पेश गरेको र आज निर्णयमा पुग्ने आधार तयार भएको बताए । मुख्यमन्त्री राईले २५ सय मिटरको काम तत्काल सुरु गर्न तर जग्गा अधिग्रहण भने ३ हजार मिटरको गर्न क्याबिनेटबाट स्वीकृत गर्न संघीय सरकारलाई आग्रह गरे । उनले अन्तराष्ट्रिय विमानस्थल विस्तारका लागि विदेशी लगानीकर्ताले पनि प्रस्ताव गरेको जानकारी दिँदै निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

विराटनगर विमानस्थलले अन्तराष्ट्रिय मापदण्ड मिट नगर्ने भएकोले विस्तारको योजना ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनले विराटनगर विमानस्थल चाँडैनै भुउपग्रहमा आधारित उडान अवधारणा प्रणालीमा जोडिने जानकारी दिँदै सबैको सहयोग प्राप्त भए गुरुयोजना अनुसार चाँडै काम अगाडी बढाईने बताए ।
कार्यक्रममा संघीय सांसद् लालबाबु पण्डित,प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विभिन्न राजनितीक दलका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतले विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन सबै लाग्नुपर्ने बताए । उनीहरुले चाँडै नै कुरालाई काममा बदल्नुपर्नेमा जोड दिएका थिए ।
बिराटनगर विमानस्थल पूर्वी नेपालमा सबै भन्दा प्रमुख विमानस्थल हो । यो विमानस्थलबाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी गरि विराटनगर विमानस्थललाई त्रिभुवनविमानस्थल पछिको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। यस विमानस्थलबाट अन्तराष्ट्रिय सिधा उडान हुनुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् । तर यसअघि संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा पनि विमानस्थलको विकास र विस्तारका लागि पर्याप्त बजेट पर्न सकेको थिएन ।