१८ मंसिर, विराटनगर ।
परीक्षामा उर्तीण हुनुपर्ने विद्यार्थीलाई समेत लापरबाही तरीकाले कपी जाँच गरी अनुर्तीण बनाएको भन्दै विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसहरु बन्द गर्ने चेतावनी दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयले लिएको परीक्षामा लापरबाही तरिकाले कपी जाँचेको र विद्यार्थीले लेखेको सही उत्तरलाईसमेत गलत बनाएको भन्दै पुसेट क्याम्पसका विद्यार्थीहरुले पूवि अन्तर्गतका सम्पुर्ण क्याम्पसहरु बन्द गर्ने चेतावनी दिएका हुन् ।
त्यस सम्बन्धमा विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयबीच भएको छलफल निष्कर्ष विहीन भएपछि विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पस बन्द गर्ने निर्णय गरेको पुसेट क्याम्पसका विद्यार्थी रुपेशकुमार दासले जानकारी दिए । सही उत्तरलाई गलत बनाएर नम्बर नदिएको प्रमाण भेटिएको उनले बताए । अर्का विद्यार्थी रुकेश यादवले विद्यार्थीहरुको पूर्वाञ्चल विश्वविद्यालयले भविष्य डामाडोल बनाउन खोजेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।
परीक्षामा सही उत्तरलाई गलत पारेर नम्बर नदिएको भेटिएपछि बुधबार परीक्षा नियन्त्रण कार्यालय पुगेका विद्यार्थीहरुले परीक्षा नियन्त्रकसहित परिक्षा नियन्त्रण कार्यलयका कर्मचारीहरुलाई थुनेका थिए । विद्यार्थीहरुले परीक्षा नियन्त्रक सुर्य प्रसाद संग्रौला , सह नियन्त्रक धर्मेन्द्र सिंह, बोध हरि आचार्य लगायतलाई कार्यालय भित्रै राखेर बाहिरबाट ताला लगाउनुका साथै पनिकामा तोडफोड समेत गरेका थिए ।
नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतले विद्यार्थीलाई लाठी चार्ज गरी स्थितीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयबीच छलफल भएपनि निष्कर्ष विहीन भएपछि विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पस बन्द गर्ने निर्णय गरेका हुन् ।