बागलुङ, फागुन २७
बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन् ।
माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गरे । विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन् ।
“पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसले भने ।
पोखरीमा अहिले ग्रास कार्प र कमन कार्प गरी चार हजार भुरा रहेको उनको भनाइ छ । श्रीसले प्रतिकिलो रु ५०० मा माछा बिक्री गर्दै आएका छन् ।
“माछाको माग अत्यधिक छ, बजारको कुनै समस्या छैन”, उनले भन्नुभयो, “माछापालनलाई अझै विस्तार गर्ने सोचमा छु ।” उनले थप ११ रोपनी जग्गामा माछापालनको योजना बनाएका छन् ।
शुरुमा रु ६५ हजारको लागतमा माछापालन शुरु गर्नुभएका श्रीसले जिल्ला कृषि विकास कार्यालयबाट रु २० हजार अनुदान पाएका छन् ।
आफ्नै ठाउँमा बसेर कृषि उद्यम गर्न पाउँदा सन्तुष्टि मिलेको उनी बताउँछन् । केही वर्षअघि पोखरामा भएको कृषि तालीमपछि माछापालनतर्फ आकर्षित भएको श्रीसले सुनाए ।
माछापालनसँगै उनले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । उद्यमीको परिचय बनाउनुभएका श्रीसलाई उनकी श्रीमती टीकाकुमारीले सघाउँदै आएका छन् ।
“हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भनिन्, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।”
श्रीस दम्पतीको मेहनत देखेर गाउँका अन्यले पनि प्रशंसा गर्ने गरेका छन् । कास्की बेगनासबाट प्रतिभुरा रु ५० पैसामा ल्याउने गरेको श्रीसले बताए ।
भुरा ल्याएर पोखरीमा छोडेको पाँच÷छ महिनापछि माछा बेच्न योग्य हुने उनको भनाइ छ । एक्लै ल्याउँदा ढुवानी महँगो परेपछि गाउँका माछापालक किसान मिलेर सँगै भुरा ल्याउने गरेका छन् ।
कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो । माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो बरेङ गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल बागलुङमा करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । कार्यालयले व्यावसायिक माछापालन गर्ने किसानलाई वर्षेनी अनुदान उपलब्ध गराउँदै आएको छ ।
रासस