काठमाडौं, चैत ३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनेको बताएका छन् । आज काठमाडौमा दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले संविधानको सफल कार्यान्वयन संगै नेपालमा लगानीको संभावना बढेकोे बताए ।
राजनीतिक संक्रमणको विभिन्न कालखण्ड पूरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै उनले समृद्धि र विकासको अभियानमा सहयोग गर्न आग्रह पनि गरे ।
उनले नेपालको राजनीतिक रुपान्तरणमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसले आफूलाई गौरवान्वित बनाएको उल्लेख गरे । तीन दशक अघि दक्षिण एशियाली क्षेत्रको साझा समृद्धिको लक्ष्य बोकेर सार्कको स्थापना भएको स्मरण गर्दै नेता दाहालले शान्ति, स्थायित्व र समृद्धिको आशा भने अझै पुरा भईनसकेको उल्लेख गरे ।
दक्षिण एशियाली राष्ट्रहरुले महत्वकांक्षी लक्ष्य लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती गर्न नहुने भन्दै उहाँले साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्तिको आवश्यकता औल्याए ।