१८ माघ, काठमाडौँ ।
संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रलयका सचिव केदारबहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन् । कारोनाभाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उहाँले यस्तो बताएका हुन ।
नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उनले गरे । नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएकोमा उनी उपचारबाट फर्किएको तथा अन्य ५ जनामा आशंका गरिएकामा सबैमा नेगेटिभ देखिएको उनले बताए । समाचारको उद्देश्य राम्रो भएपनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षीत छैन भन्ने सन्देश जाने उनले बताए । चीनले समेत वुहानबाहेक अरु ठाउँ सुरक्षीत रहेको र नेपालमा जस्तो पर्यटकको संख्यायतिले घट्यो, आउन छोडे भन्ने खालका समाचार नआएको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले सहि र तथ्यगत सूचना आदान प्रदान अहिलेको आवश्यकता भएको बताए । सबैमाझ सहि सूचना आदानप्रदान गर्ने र नेपालनाउ डट ओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफैले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनले बताए ।
चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ । नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ ।