सप्तरी, चैत ५
जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिना भित्र सप्तरीमा आठ वटा जबरजस्तीकरणीका घटनाहरु भएको जानकारी दिएको छ । पत्रकार सम्मेलन गरी प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले ८ वटा जबरजस्तीकरणीका घटनामा संलग्न ८ जना पक्राउ तथा ६ जना फरार रहेको जानकारी दिए ।
प्रहरी उपरीक्षक सिंहले ८ घटना मध्ये ५ वटा घटना नाबालिकासँग भएको बताउँदै घटनामा संलग्नहरुमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको बताए । सप्तरीमा भएको सामूहिक बलात्कारका घटनामा संलग्न भएकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिष्णुपुर गाउँपालिका ७ की २२ वर्षिया एक महिलालाई फागुन २५ गते शनिबार साँझ राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा सामूहिक बलात्कार गरेका विष्णुपुर गाउँपालिका ७ का जिवछ राम र इसराईल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिका ३ कचन्दाहाकी १८ वर्षिया एक दलित युवतीलाई फागुन २८ गते सामूहिक बलात्कार गरेका एटलान्टिक चौधरी र अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी फागुन २९ गते सखडा राजबिराज सडक खण्डमा माइक्रो बसमा बिर्तामोड नगरपालिका ४ बस्ने २४ वर्षिया युवतीलाई जबरजस्तीकरणी गरेका गाडी चालक सिराहा भगवानपुरका वैजनाथ दास र सहचालक सुनसरी गाउँपालिकाका खेमराज बैश्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।