चीनमा उपचार पश्चात घर फर्किएकाहरूमा फेरि देखिन थाल्यो कोरोनाभाइरस

२२ फागुन, एजेन्सी । चीनमा अस्पतालबाट उपचार गरेर घर फर्किएकाहरूमा पनि कोरोनाभाइरस फेरि देखिन थालेको छ । पछिल्लो समय एक जना युवाको अस्पतालले घर पठाएको पाँच दिनपछि उक्त भाइरसका कारण ज्यान गएको छ।

वुहानका एक जना ३६ वर्षीय पुरूष कोरोनाको संक्रमण देखिएपछि फेब्रुअरी १२ मा अस्पताल पुगेका थिए। कोरोनाका बिरामी जाँच्नका लागि बनाइएको उक्त अस्पतालमा दुई साता उपचार गरेपछि उनलाई डाक्टरहरूले डिस्चार्ज गरिदिए। उनलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न पनि भने।

मेई थरकी उनकी पत्नीले एक स्थानीय पत्रिकालाई अस्पतालबाट फर्किएको दुई दिनपछि आफ्ना पतिलाई अप्ठेरो हुन थालेको बताएकी छन्।
मार्च २ मा उनी सिकिस्तै बिरामी परे। उनलाई तत्काल अस्पताल लगियो। तर त्यही दिन दिउँसो डाक्टरहरूले उनलाई मृत घोषणा गरे। वुहान स्वास्थ्य आयोगले जारी गरेको मृत्यु प्रमाणपत्रमा उनको मृत्युको कारण कोभिड-१९ भएको उल्लेख छ।

Advertisement

वुहानको फाङसाङ अस्पतालले बुधबार एउटा आपतकालीन सूचना जारी गर्दै उपचार गरेर गएकाहरू फेरि बिरामी भएर आउन थालेको बताएको छ। बिहीबारदेखि डिस्चार्ज गर्नुअघि बिरामी पूर्ण निको भए कि भएनन् भनेर एन्टिबडी परीक्षण गर्ने अस्पतालले जनाएको छ।

यसैबीचमा चीनमा बुधबार कोरोनाबाट ३१ जनाले ज्यान गुमाएका छन् भने १ सय ३९ जनामा नयाँ बिरामी फेला परेका छन्। नयाँ संक्रमित भेटिन क्रम मंगलबारभन्दा केही बढेको छ। मंगलबार चीनमा १ सय १९ जनामा संक्रमण देखिएको थियो।

Advertisement

गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोभिड-१९ नाम दिइएको कोरोनाभाइरस अहिले ८५ देशमा फैलिएको छ। अहिलेसम्म यो भाइरसका कारण ३ हजार २ सय ८३ जनाले ज्यान गुमाएका छन् भने ९५ हजार ३७ जना संक्रमित भएका छन्। उपचार गरेर घर फर्किनेको संख्या ५३ हजार १४ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top