विराटनगर, चैत ८
प्रदेश नम्वर १ को प्रदेशसभा नियमावली २०७४ आज पारित भएको छ । आज बसेको प्रदेशसभाको सातौं बैठकले २ सय ११ नियम र ७ अनुसूचि भएको नियमावली सर्वसम्मतिले पारित गरेको हो ।
प्रदेशसभा सदस्य लिलावल्लभ अधिकारीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार गरी सदनमा प्रस्ताव गरेको नियमावली संशोधनसहित पारित भएको हो ।
सदनमा पेश भएको नियमावली मस्यौदामाथि नेकपा एमालेकी सांसद उषाकला राईले संशोधन दर्ता गराएकी थिईन् । नियमावलीमा व्यवस्था गरिएको शुन्य समय र प्रश्नोत्तर समयको छुट्टाछुट्टै प्रावधानले अलमल भएको भन्दै उनले स्पष्ट हुने गरी एउटा मात्र व्यवस्था गर्न संशोधन दर्ता गराएकी थिईन् ।
राईले दर्ता गराएको संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नियमावलीको अंग बनेको घोषणा गरिएको थियो । संशोधन पछि शुन्य समयको अवधि एक घण्टा ३० मिनेट कायम भएको छ ।
नियमावलीले विभिन्न सात वटा संसदीय समिति गठन हुने व्यवस्था गरेको छ । संसदको नियमित कार्य संचालनलाई व्यवस्थित गर्न झन्झटिलो विधिहरुलाई सकेसम्म समावेश नगरी छोटो र प्रभावकारी हुने गरी मौलिकरुपमा तयार पारिएको मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले जानकारी दिए ।
अधिकारीले प्रस्ताव गर्नुभएको नियमावली मस्यौदामाथि १३ जना सांसदहरुले टिप्पणी गरेका थिए । नियमावली पारित पछि आगामी चैत १४ गते दिउँसो १ बजेसम्मकालागि बैठक स्थगित भएको छ ।