चितवनका दुई संक्रमितसंग सम्पर्कमा आएका ३२८ जनाले टिपाए विवरण

७ बैशाख २०७७, आइतबार
Share this
708shares

७ वैशाख, चितवन । चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूसँग निकट रहेकाहरूको स्वास्थ्य परीक्षण गरिरहँदा वडा कार्यालयले थप त्यस्ता व्यक्तिको विवरण संकलन गर्दैछ ।

Advertisement

राप्ती नगरपालिका–८ का उनीहरू चैत ३ गते लन्डनबाट काठमाडौं झरी दुई दिनपछि चितवन आएका हुन् । स्वास्थ्य कार्यालयप्रमुख दीपक तिवारीका अनुसार शनिबार आठ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती उनीहरूका परिवारका सदस्य हुन् । आरडीटी रिपोर्टकै आधारमा ढुक्न हुन नसकिने तिवारी बताउँछन् ।

भरतपुर अपस्पतालको आइसोलेसन वार्डमा रहेका ६१ वर्षीया महिला र उनका २७ वर्षे छोरासँग शनिबार स्वास्थ्य कार्यालयका अधिकारीहरूले भेट गरेका थिए उनीहरू नेपाल आएपछि कहाँकहाँ गए र कसलाई भेटे भन्नेबारे प्रारम्भिक जानकारी बटुलिएको तिवारीले बताए।

Advertisement

काठमाडौं झरेकै दिन उनीहरूको हङकङबाट आएका अर्का छोरासँग भेट भएको थियो। पीसीआर परीक्षणमा ती छोरामा भने संक्रमण देखिएन।

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका आमाछोरामा बेलायतबाट आएको महिनादिन बित्दा पनि रोगको लक्षण नदेखिएको चिकित्सक बताउँछन्।

Advertisement

स्वास्थ्य कार्यालयले जुटाएको विवरणअनुसार काठमाडौं झरेपछि तीनै आमाछोरा सुन्धाराको गेस्टहाउसमा बस्छन्। चैत ५ गते चितवनतिर लाग्छन्। सुन्धाराबाट कलंकीसम्म ट्याक्सी र त्यहाँबाट माइक्रो चढ्छन्।

उनीहरूको घर पूर्वपश्चिम राजमार्गको सिमलटाँडीबाट तीन किमि उत्तरमा पर्छ। राजमार्गबाट घरसम्म आफन्तले मोटरसाइकलमा पुर्‍याउँछन्।
वडाध्यक्ष बुद्धिराज थपलियाका अनुसार विदेशबाट आएका व्यक्तिहरूको विवरण लिने सिलसिलामा उनीहरूको पनि पहिचान भएको थियो।

अहिलेसम्म ३२८ जनाले आफूहरू संक्रमितसँग सम्पर्कमा रहेको भनी विवरण टिपाएको वडाध्यक्ष थपलियाले बताए। तीमध्ये ५२ जनासँग उनीहरूको बढी घुलमिल भएको देखिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top