२६ बैशाख, काठमाडौँ ।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्गेका छन । संघीय संसदको छटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेका हुन् ।
उनले लोकतन्त्र र कानुन विरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुर्याउन सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गरे । लोकतन्त्रको सुनिश्चिता गर्दे मुलुकलाई राजनीतिको सही बाटोमा हिडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उनको थियो । कुर्सीमा बस्दैमा पद ठूलो नभएको भन्दै उनले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले भने “तपाई जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुहोस् । तपाईले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुदा तपाईले आफै माथि पनि अन्याय भएको छ । तपाई रोगले जिर्ण भएको शरिरलाई तपाईले आराम दिनुपर्छ । र यो लोकतन्त्रलाई बचाएर र आफ्नै छबिलाई पनि बचाएर अगाडि बढाउनका लागि निम्ति तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै एउटा उचित निकास हुन्छ । ” कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानविय सवालमा केन्द्रीत हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उनले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यता औल्याए । उनले भने “हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षडयन्त्र गरेर बस्छ र संबैधानिक अंगहरु कब्जा गरेर आफ्नो मनोखुसीले समय संबैधानिक अंगमा नियुक्ति गरेर निरंकुशता तर्फ देशलाई लैजान सक्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभ संकेत होइन । ”
अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै उनले फिर्ता भईहाल्यो भनेर छोड्न नहुने बताए । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठेको टिप्पणी उनले गरे । लकडाउनको समयमा काठमाण्डौ देखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाण्डौमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उनले त्यसलाई कानुनी प्रक्रिया अनुसार समाधान गर्न आग्रह गरे । पुर्व प्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दे उनले सरकारबाट सुरक्षा निकायहरु पनि आतंकित बनेको दाबी गरे ।
उनले सरकारले सुरक्षा निकाय लगायतका संघसस्थाहरु भत्काएर लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाए । उन भने “जो पीडीत छ तीनै माथि पनि मुद्धा लगाईदिने । अनि प्रत्यक्ष परोक्ष ढंगले पहल गर्ने । अब फच्चे गरौ । तपाईले पनि फिर्ता लिनु म पनि फिर्ता लिन्छु । यही हो लोकतन्त्र ? यही हो हाम्रो समाजवाद ?”
सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि नेतृत्वको पदलोलुपता र स्वार्थ केन्द्रीत कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञहरुको छबि बिग्रिदै गएको र त्यसको परिणाम खतरनाक हुने चेतावनी दिए । उनले भने “ निर्वाचित सरकारको छबि राम्रो छैन । हामीले बोलेको कुरा अहिले कसैले पनि विश्वास गर्दैन । राजनीतिज्ञ, सांसद आदि भनेको सबै भ्रष्ट, गैहजिम्मेवार, सत्तालोलुप, पदलोलुप भन्ने खालको एउटा बिम्ब बनेको छ । त्यो अत्यन्तै खतरनाक छ ।” उनले राजनीतिप्रति नै मान्छेको अविश्वास, आशंका र वितृष्णा फैलियो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेर म्ुलुक प्रतिगमन तर्फ जाने खतरा रहेकाले त्यो खतराबाट मुलुकलाई जोगाउनुपर्ने बताए ।


