२२ जेठ,जनकपुर ।
प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ ।
प्रदेश २ समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए ।
प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो ।
मर्यादापालकमा कोरोना भेटिएपछि अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको, उनीहरुलाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको यादवले बताए ।