२९ जेष्ठ, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाङ्लादेशबाट कोरोना भाइरसबाट संक्रमित गम्भीर बिरामीको उपचार गर्न रेमडिसिभिर औषधी ल्याउने प्रक्रिया शुरु गरेको छ।
मन्त्रालयको कारोना नियन्त्रण तथा रोकथाम समितिको वैदेशिक समन्वय शाखाका संयोजक डा. रोशन पोखरेलका अनुसार, पहिलो चरणमा तीन सय जनालाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गर्न चाहिने औषधीको परिमाण ल्याउने प्रक्रिया शुरु भएको हो।
“हामीले बाङ्लादेश सरकारसँग तीन सय जनाको उपचार गर्न चाहिने औषधी मागेका छौं”, पोखरेल भन्छन्, “तर बाङ्लादेश सरकारले कति परिमाणमा दिन्छ त्यसमा भर पर्छ।” पोखरेल मुलुकमा कोरोना भाइरसबाट संक्रमित भएका जटिल बिरामी नदेखिएकाले तत्कालै औषधी आवश्यक नभएको बताउँछन्।
कोरोना संक्रमित बिरामीलाई सामान्य औषधी उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्ने क्रममा सुई मार्फत रेमडिसिभिर औषधी दिइन्छ। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले कोरोना भाइरसबाट संक्रमित सिकिस्त बिरामीको उपचारका लागि एन्टिभाइरल रेमडिसिभिर प्रभावकारि हुने देखाएका छन्।
एक जना कोरोना संक्रमित बिरामीका लागि पाँच दिनसम्म ६ डोजमा रेमडिसिभिर औषधी दिनुपर्ने चिकित्सकहरु बताउँछन्। झण्डै एक महीना अगाडि एक औषधी व्यावसायीले औषधी व्यवस्था विभागलाई दिएको जानकारी अनुसार, ६ डोजमा सुईको माध्यमबाट रेमडिसिभिर औषधी दिँदा झण्डै एक लाख खर्च लाग्छ।
उनीहरुका अनुसार, एक किलोग्राम उक्त औषधी बनाउन चाहिने कच्चा पदार्थलाई मात्र दुई लाख ४० हजार अमेरिकी डलर पर्छ। अहिलेसम्म कुनै पनि नेपाली कम्पनीले रेमडिसिभिर औषधी उत्पादन गरेका छैनन्। औषधी व्यवस्था विभागका महानिर्देशक डा। नारायणप्रसाद ढकाका अनुसार, यो औषधी बनाउन कुनै पनि कम्पनीले प्रस्ताव पेश गरेका छैनन्।
तर सरकारले खरीद गर्ने ग्यारेन्टी लिएर नेपाली उत्पादकहरुले रेमडिसिभिर औषधी उत्पादन गर्न इच्छा देखाएको ढकाल बताउँछन्। भारतमा पाँच वटा कम्पनीले रेमडिसिभिर औषधी उत्पादन गर्दै आइरहेका छन्।