चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा

१२ असार ७७, शनिबार

१३ असार, एजेन्सी ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

ती चिनियाँ अधिकारीहरू हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ। पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ।

यो निर्णय हङ्‌कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानूनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वाचानुरूप गरिएको हो। चीनले अमेरिकी निर्णय त्रुटिपूर्ण भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ।

Advertisement

चिनियाँ संसद्‌को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो। आइतवारदेखि आरम्भ हुने न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिले हङ्‍कङका लागि बनाइएको कानुनबारे छलफल गर्नेछ।

चीनले प्रस्तावित गरेको कानुनमा हङ्‌कङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरू अपराध ठहरिने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू छन्। उक्त प्रस्तावित कानुनका कारण हङ्‌कङमा चीनविरोधी प्रदर्शनको नयाँ लहर चलेको छ।

Advertisement

अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम पोम्पेओले उल्लेख गरेका छैनन्।

के भन्यो चीनले ?

केही समयअघि अमेरिकी सिनेटले हङ्‌कङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरूसँग कारोबार गर्ने व्यापारी तथा व्यवसायलाई प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियो।

पोम्पेओले सिनेटको निर्णयअनुरूप यो घोषणा गरेका हुन्। प्रतिक्रियामा वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिकी पक्षको अन्यायपूर्ण निर्णयहरूको कडा विरोध गर्ने जनाएको छ।

ट्विटरमा एउटा विज्ञप्ति प्रेषित गर्दै राजदूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरू सच्याउन, उक्त निर्णय फिर्ता लिन र चीनको आन्तरिक विषयमा हस्तक्षेत नगर्न आग्रह गरेको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top