रोटाभाइरस के हो र त्यसविरुद्ध खोप लगाउन किन आवश्यक

१९ असार ७७, शनिबार

२० असार, काठमाडौं ।
नेपालमा पनि लामो समयदेखि चर्चामा रहेको रोटाभाइरसविरुद्ध खोप लगाउने कार्य औपचारिक रूपमा बिहीवारदेखि सुरु भएको छ।

काठमाण्डूका आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र सचिव लक्ष्मण अर्याले दुई बालबालिकालाई उक्त खोप खुवाएर खोप अभियान आरम्भ गरेका थिए। विशेषगरी पाँच वर्षमुनिका बालबालिकालाई सङ्क्रमण गर्ने रोटाभाइरसविरुद्ध केही वर्षअघि नै खोप सुरु गर्ने बताइएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक भीमसिंह तिंकरीले उक्त खोप १५ सातामुनिका बालबालिकालाई लगाइने बताए। यो नयाँ खोपसँगै नेपालमा सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने खोपको सङ्ख्या १२ पुगेको छ।

Advertisement

सरकारले ग्लोबल अलाईअन्स फोर भ्याक्सीन एन्ड इम्यूनाइजेशन (ग्याभी) नामक संस्थाको सहयोगमा नियमित रूपमा यो खोप अभियान सञ्चालन गरेको हो।

के हो रोटाभाइरस ?

Advertisement

अधिकारीहरू तथा विशेषज्ञहरूका अनुसार विशेषगरी बालबालिकाहरूमा झाडापखाला लगाउने एकखाले भाइरसलाई रोटाभाइरस भनिन्छ।

यसले पाँच वर्षमुनिका बालबालिकाहरू बढी प्रभावित हुने गरेको उनीहरू बताउँछन्। मुख्यतः जाडो मौसममा यसको प्रभाव बढी देखिने गरेकाले कतिपयले यसलाई जाडोको भाइरस समेत भन्ने गर्छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार यो भाइरसले नेपालमा पनि धेरै बालबालिकालाई बिरामी बनाउने गरेको बताए।

आफू समेत सामेल भएर केही वर्षअघि गरिएको एउटा अनुसन्धानले नेपालमा झाडापखाला लागेर अस्पताल भर्नाहुने पाँच वर्ष मुनिका बालबालिकामध्ये ३३ प्रतिशतमा रोटाभाइरसको सङ्क्रमण पाइएको उनले बताए। यसले कोरोनाभाइरसले जस्तो महामारीको रूप कमै लिने पाइएको भए पनि कतिपय देशहरूमा भने ठूलो मात्रामा एकै स्थानका बालबालिकाहरूमा फैलिएको पाइएको उनले जानकारी दिए।

रोटाभाइरस लाग्दा के हुन्छ ?

डा पुनका अनुसार यो भाइरसले आक्रमण गरेपछि बालबालिकामा पानी जस्तो पातलो दिशा लागेको लागै गर्ने र वाकवाकी लाग्ने हुन्छ।

त्यस्तै बान्ता हुने र जलविनियोजन हुनेजस्ता समस्याहरू देखिन्छन्। यदि रोटाभाइरस लागेको बालबालिकाको दिसापिसाबको सम्पर्कमा अन्य बालबालिकाहरू पुगे र त्यो मुखको माध्यमबाट पेटमा पुगेमा सङ्क्रमणको सम्भावना हुने गर्छ। अहिले बालबालिकाहरूलाई मन्टेसरीमा राख्ने चलन बढेको छ।

त्यस्ता स्थानमा यो भाइसको जोखिम बढी हुन्छ। यसको खोपलाई अनिवार्य रूपमा लगाउन सरकारले सुरु गर्नु एकदमै सकारात्मक कुरा हो, पुनले भने। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार विश्वमा करिब २ लाख १५ हजार पाँच वर्ष मुनिका बालबालिकाहरूको हरेक वर्ष रोटाभाइरसका कारण ज्यान जाने गरेको पाइएको छ।

डब्लूएचओले सबै सदस्यहरूलाई यो भाइरसविरुद्धको खोप लगाउन सिफारिस समेत गरेको छ।

खोप कहिले लगाउनुपर्छ ?

यो खोप जन्मिएको छदेखि १० सातामा बालबालिकाहरूलाई लगाउनुपर्ने विज्ञहरूले बताए।

निर्देशक तिंकरीका अनुसार अब यो खोप देशभरिका सबै खोपकेन्द्रमा उपलब्ध हुनेछ। नेपालभरि १६,००० वटा खोपकेन्द्र छन्। यो खोप मुखबाट खुवाएर दिइने उनले जानकारी दिए। बालबालिकालाई १.५ मिलिलिटरको मात्रा दुई पटक दिनुपर्छ। यो खोपबाट देशभरि छ लाख २० हजारभन्दा बढी बालबालिका लाभान्वित हुने अधिकारीहरूले बताए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top