२२ असार, काठमाडौं ।
झुटो विवरण पेस गरेर विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइदिएको अभियोगमा प्रहरीले एक प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत सुरेश आचार्यलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले अदालतबाट अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
आचार्यले २०७२ मंसिर १० गते झुटो विवरण भराएर एक विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाएको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनलाई थप कारबाहीको लागि जिल्ला अदालत झापामा पेस गरिसकेको प्रहरीले जानकारी दिएको छ।