३० असार, काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो प्यानलको उम्मेलवारी घोषणा गरे ।
उम्मेदवारी घोषणासभामा ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीहरु परास्त गर्दै आर्थिक रुपमा समुन्नत नेपाल बनाउने अभियानमा सधै काम गर्ने बताए । आफ्नो समूहमा अनुभव र विश्वासले खारिएका व्यवसायीहरु रहेको उल्लेख गर्दै उनले हरेक क्षेत्रका व्यवसायीहरुका समस्या सम्बोधन गर्न सधै साथमा रहने विश्वास दिलाए ।
उनले अध्यक्षका दाबेदार शेखर गोल्छाको भूमिका प्रति भने आपत्ति जनाए । बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान कायम राख्न आफुले खेलेको भूमिका गोल्छाले भूलेको आरोप उनले लगाए । उनले भने– ‘‘बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ र त्यसको मर्मलाई अहिले कसले मार्दै छ ? त्यो के का लागि ? केही महिनाअघि नेतृत्वमा बसेका साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लबिङ गरेको थियो ? भविष्यमा हामी जे गरौला गरौँला अहिले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष पाउनुपर्छ भनेर ठूलै मिहेनत नगरेको भए सायद आज चुनाव फरक हिसाबको हुन्थ्यो होला । यो कुरा हेक्का राख्नुपर्छ ।’’
ढकालले आफ्नो प्यानलले विजयी हुने दाबी गर्दै त्यसपछि गोल्छा नेतृत्वलाई सघाउन तयार रहेको प्रष्ट पारे । ढकाल समूहबाट जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार बनेका छन । साउन २६ र २७ गतेबाट हुने महासंघको चुनावी अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन । यद्यपी अहिलेसम्म प्रधान समूहको उम्मेदवारी घोषणा भएको छैन् ।