विवाहको प्रलोभनमा बलात्कारको आरोप लागेका युवा थुनामा

विवाहको प्रलोभनमा बलात्कारको आरोप लागेका युवा थुनामा

३१ असार, पर्वत ।
पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन ।

कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही असार १७ गते गिरफ्तार गरिएको थियो ।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेको भनी पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितबालिकामा छ महिनाको गर्भ रहेको पाइएको छ ।

यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर बलात्कार गरेको आरोप छ । आरोपित खड्का ट्र्याक्टर चालक हुन् ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.