२ साउन, एजेन्सी ।
स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित रियलले लिग उपाधि पक्का गरेको हो ।
रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमायो । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । सिजनको २० औं गोल गर्ने क्रममा बेन्जेमाले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए ।
रियलले बल पोसेसनमा बलियो पकड बनाउँदै लगातार एकतर्फी आक्रमण जारी राखेको थियो छ । ७३ औं मिनेटमा रियलले पेनाल्टी प्राप्त गर्यो । रामोससर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रियलले पहिलो प्रयासमा भने गोल गर्न सकेन । रामोसले बेन्जेमालाई पेनाल्टीमै पास दिन खोजेपनि रेफ्रीले पुनस् पेनाल्टी प्रहार गर्न लगाएका थिए । दोस्रो प्रहारमा भने बेन्जेमाले गोल गर्न सफल रहे ।
८२ औं मिनेटमा रियलले अग्रतालाई ३-० को अवस्थामा पुराउन सकेन । क्रुसको प्रहार पोस्टमा लागेर फर्केको थियो । यधपी ८३ औं मिनेटमा भने मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । थप समयमा गोल हुन नसक्दा रियलले फराकिलो अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो ।
गए राति नै भएको अर्को खेलमा भने बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २-१ ले पराजित भएको छ । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए । ६२ औं मिनेटमा लिओनेल मेस्सीले फ्रिकिकमार्फत सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । ७५ औं मिनेटमा एन्रीच गालेगोले डिफेन्डर क्लेमेन्ट लेङलेटलाई फल प्रहार गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिए ।
१० खेलाडीमा रहनुका बाबजुद ओसासुनाले खेलमा जित हासिल गरेको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै जी जित पक्का गरे । उनले एन्रिके बार्जाको क्रसमा गोल गरेका थिए ।
यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ ।
रियलले ३७ खेलमा ८६ अंक जोड्दा बार्सिलोनाले मात्र ७९ अंक जोडेको छ । अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।