प्रहरीले नै तस्कर भगाए, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

१७ साउन ७७, आइतबार

काठमाडौं : १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्।

‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं।’

प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेको हो। गाडीधनी बाराका इल्ताफ हुसेन अन्सारी र भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन्। अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेको पाइएको छ।

Advertisement

गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ। उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाइएको सुन भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजनामा थिए।

देवान र उनका भाइ कौशलले जलप लगाउने जिम्मा लिएका थिए। देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग रहेको अनुसन्धानबाट खुलेको छ। उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे। सुनको जलप लगाइएको चाँदीको एउटा ‘बिस्कुट’ दिई झोला फ्याँकेर उम्किएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। मनीष काम गर्ने सुन पसलमै चाँदीको ‘बिस्कुट’ किनेर सुनको जलप लगाउन पटेल समूहले ५२ लाख रुपैयाँ खर्चिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Advertisement

जवानद्वय कठायत र श्रेष्ठकोे योजनाबारे दरबारमार्गका तत्कालीन डीएसपी रञ्जन दाहाल अनभिज्ञ देखिन्छन्। दाहाल सुन्धारा पुग्नुअगावै कठायत त्यहाँ पुगेर सुनचाँदीको झोला लिएर गाडी उम्काएका थिए। दाहालले गाडी नम्बर उल्टो टिपाए पनि सीसीटीभी फुटेजका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीकै लापरबाहीले दुई मुख्य योजनाकार भाग्न सफल भएको अनुसन्धानले देखाएको छ। अपरेसन पूरा नहुँदै कनिष्ठ प्रहरीलाई विश्वास गर्दा दरबारमार्ग वृत्तका तत्कालीन डीएसपी दाहाल जिम्मेवारीबाट वञ्चित हुनु पर्‍यो। घटनास्थल परिवर्तन गरी नक्कली अपरेसनलाई जिम्मेवार प्रहरी अधिकृतले जस लिन खोजे। उपल्लो नेतृत्वले गल्ती ढाकछोप गर्दा फेरि प्रहरीप्रतिको जनविश्वासमा प्रश्न उब्जिएको छ।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top