२८ साउन, काठमाडौं । सोमबारदेखि बेपत्ता पत्रकार बलराम बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको छ ।

परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो साढे ३ बजे बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादकका रुपमा कार्यररत थिए ।

Scroll to Top