टेकराज बन्जरा
विराटनगर ,बैशाख २१ ः विश्व प्रेस स्वतन्त्रता दिवसमा आज पत्रकार महासंघ मोरङले प्रभातफेरी गरेको छ ।
पत्रकार महासंघ मोरङकोे कार्यालयबाट निस्कीएको प्रभातफेरी भट्टीमोड,ट्राफिक चौक हुँदै पुनः महासघं अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा सहभागीहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको खम्बा हो, मे ३ प्रेस स्वतन्त्रता दिवस सफल पारौँ,पत्रकार माथिको धम्की र दुब्र्यवहार अन्त्य गर,प्रेस स्वतन्त्रता तथा अभिब्यक्ती स्वतन्त्रता कायम गरौँ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष कुमोद अधिकारीले पत्रकारहरुले अझै पनि खुलेर समाचार लेख्न तथा फोटो खिच्न नपाएको बताए । उनले हिँजो मात्रै भएको पत्रकारमाथिको हातपातलाई औँल्याउँदै अझै पनि पत्रकारहरुमाथि दुर्ब्यबहार हुनु दुखद् भएको बताए ।
प्रभातफेरी कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पनि उपस्थिती थियो ।कार्यक्रममा मेयर पराजुलीले पत्रकारीता गरेर जीवनयापन गर्न नसकीरहेको अवस्था औँल्याउँदै धेरै पत्रकारहरु जीवनयापनका लागि पलायन भएको बताए ।
प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै मेयर पराजुलीले स्वतन्त्र प्रेसकालागि राज्यले पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने बताए ।उनले महानगरपालिकाले सञ्चार माध्यमलाई दिँदै आएका सुविधामा केही बृद्धि गर्ने पनि जानकारी दिए ।
प्रभातफेरीमा पत्रकार महासंघ मोरङका पुर्बअध्यक्षहरु मोहन भण्डारी,यज्ञ शर्मा, महेन्द्र बिष्ट तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको उपस्थिति थियो ।
प्रभातफेरीमा सहभागिहरुले सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्नुपर्ने बताएका थिए ।
नेपालमा प्रेस स्वतन्त्रता हननका घटना
नेपालमा मे ४, २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको धम्की र दुव्र्यवहारका १९ वटा घटना भएका छन् भने पत्रकारमाथिको आक्रमणका १७ वटा र पत्रकार पक्राउका १६ वटा घटना भएका छन् ।
त्यसैगरी कब्जा, अपहरण र अवरोधका ६ वटा घटना भएका छन् । त्यस्तै नीतिगत अवरोधका ३ वटा घटना छन् भने पत्रकारलाई बेपत्ता पार्ने १ वटा घटना भएको छ ।