‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

१ असोज ७७, शुक्रबार

२ असाेज, दमौली ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ । जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो ।

गाउँपालिकामा नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न गाउँपालिकाले पदमार्ग पर्खालको काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ र पटक–पटक भएको बन्दाबन्दीले काममा ढिलाइ भएको छ ।

हालसम्म रु ७० लाख बजेट खर्च भएको छ । “पदमार्ग पर्खाल चार किमि लामो हुन्छ, दशैँ पछाडि लगत्तै काम शुरु गर्छौ” थापाले भने, “बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी समृद्ध गाउँपालिका निर्माणका लागि जुटेका छौं ।” पदमार्ग पर्खाल निर्माणका लागि बजेट अभाव भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग रु पाँच करोड बजेट माग गरिएको छ ।

Advertisement

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । डाँडामा सवारी साधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यताका कारण निर्माण लागत महङ्गो परेको छ ।

मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ”, थापाले भने ।

Advertisement

बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले शिशाको दृश्यावलोकन स्तम्भ निर्माणको तयारी पनि थालेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top