इजरायलले ५ सय नेपाली नर्स लैजाने, तलब १५ सय अमेरिकी डलर

८ असोज ७७, शुक्रबार

काठमाडौँ : इजरायलले पहिलोपटक नर्सिङ क्षेत्रका लागि संस्थागत रूपमा पाँच सय नेपाली लैजाने भएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् । कूल २५ सय जना श्रमिक लैजाने नीतिअनुरुप इजरायलले पाँच सय नेपालीलाई अवसर दिन लागेको हो । यसका लागि नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने सहमति जुटेको छ ।

यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको छ । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो । इजरायलस्थित नेपाली दूतावासका अनुसार यससम्बन्धी सम्झौतामा असोज १४ गते नेपालका तर्फबाट राजदूत अन्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्खेनाजीबीच हस्ताक्षर हुनेछ । शाक्यलाई श्रम सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्को बैठकले अख्तियारी दिइसकेको छ ।

‘नर्सिङ क्षेत्रमा २५ सय श्रमिक लैजाने इजरायलको नीति छ । त्यसमा नेपालबाट ५ सय जना लैजान लागिएको हो,’ श्रम सम्झौताको तयारी बैठकको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले कान्तिपुरसँग भने, ‘तत्कालका लागि संस्थागत रूपमा केयर गिभर पठाउने सहमति भए पनि आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि श्रमिक पठाउने वातावरण बनेको छ ।’

Advertisement

इजरायलको श्रमिक भर्ना प्रक्रियामा निजी क्षेत्रलाई सामेल गरिएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुवै देशको सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाउने सहमति भएको बताए । ‘श्रमिक छनोट प्रक्रिया सरकारी संयन्त्रबाटै हुनेछ । यसका लागि इजरायली पक्षले विभागलाई जिम्मेवारी प्रदान गरेको छ,’ सम्झौता प्रक्रियामा सहभागी रहेका दाहालले भने ।

इजरायलले पठाएको मागपत्रका आधारमा विभागले नै रोस्टर (श्रमिकको सूची) तयार गरेर अनुमतिका लागि मात्रै इजरायल पठाउनेछ । ‘छनोटको मापदण्डबमोजिम सूचना प्रकाशन गर्छौं । सर्ट लिस्टमा परेकालाई अन्तर्वार्ता लिई रोस्टर तयार गर्छौं । त्यसरी छनोट भएकाको सूची इजरायल पठाउनेछौं । उनीहरूले अनुमति दिएपछि हामी श्रमस्वीकृति दिनेछौं,’ उनले भने ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top