बुटवल, २४ वैशाख ः प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गरेका हुन्। उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पारेको नमूना छनोटमा परेको हो ।
लोगोमा प्रदेश नं ५ को हिमाली क्षेत्र सिस्ने हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, धान र जौका बालाका साथै लैङ्गिक समानता झल्किन्छ ।
प्रदेशसभा सचिवालयले आयोजना गरेको सो कार्यक्रममा सो लोगोसहित प्रदेशसभा कर्मचारीको लोगो, प्रदेशसभा नियमावली तथा प्रदेशसभा सदस्यहरुको विवरणसहितको पुस्तक, प्रदेशसभाको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ ।
त्यस अवसरमा प्रदेशसभाको लोगो निर्माणकर्ता भण्डारीलाई उपसभामुख कृष्णी चौधरीले सम्मान गरिन् ।प्रदेशसभा सञ्चालनका तथा व्यवस्थापनका लागि प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध विषय समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।
सभामुख घर्तीले प्रदेशसभाको पहिचान झल्काउन लोगो महत्वपूर्ण भएको र यसले प्रदेशका महत्वपूर्ण क्षेत्रलाई झल्काउने बताए ।
यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा छोटो समयमा यो महत्वपूर्ण र ऐतिहासिक काम भएको बताए ।
रासस