अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादी पक्राउ

१३ असोज ७७, बुधबार

१४ आश्विन, बागलुङ ।
प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागुऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन्।

यस्तै सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना पक्राउ परेका हुन्।

Advertisement

चोरी मुद्दामा पक्राउ परेका प्रतिवादी ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले विसं २०६७ भदौ १३ गते दुई महिना सात दिन कैद फैसला गरेको थियो। सवारी ज्यान मुद्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले विसं २०६६ असार ३१ गते चार महिना १७ दिनको कैद सुनाएको थियो।

यस्तै ज्यान मुद्दामा पक्राउ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने विसं २०७६ पुस २२ गते रु दुई हजार जरिवानासहित जम्मा पाँच दिन कैद फैसला गरेको थियो। अन्य प्रतिवादी भने न्यूनतम रु ८०० देखि बढीमा सात हजार ५७५ सम्म जरिवानाको सजाय पाएका छन्।

Advertisement

अदालतले कैद–जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए। कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उनको भनाइ छ।

‘अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई पक्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौँ”, डीएसपी रेग्मीले भने। पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआई लुकीछिपी बस्ने गरेको उनले बताए।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top