काठमाडौँ : त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकले डा.गोविन्द केसीको जीवनरक्षा र उनका माग पूरा गर्न दबाब दिन आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेक सेवा ठप्प गर्ने भएका छन् ।
उनीहरूले २४ घण्टाभित्र सरकारले वार्ता टोली गठन गरी डा.केसीको जीवन रक्षाका लागि पहल नगरेमा थप कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन् । डा.केसीको १९ औं अनशनको २० औं दिन भइसक्दा पनि सरकारका तर्फबाट वार्ताको पहल नहुनु लज्जास्पद र दुःखद रहेको उनीहरूले जनाएका छन् ।
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेडिजेन्ट एसोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शनिबार राति विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेका हुन् । रेजिडेन्ट चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार नेपाल सरकार हुने बताएका छन् ।
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.सुभास देवकोटाका अनुसार तीनवटै चिकित्सा संस्थामा गरी करिब ८ सय १० जना रेजिडेन्ट चिकित्सक छन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।