काबुलमा आतंककारी हमलामा परी ज्यान गुमाएका नेपाली सुरक्षागार्डका परिवार र क्यानडा सरकारबीच सहमति

१८ आश्विन, एजेन्सी ।
२०७३ असार ६ मा अफगानिस्तानको राजधानी काबुलमा भएको आतंककारी हमलामा परी ज्यान गुमाएका नेपाली सुरक्षागार्डका परिवार र क्यानडा सरकारबीच सहमति भएको छ।

काबुलस्थित क्यानेडियन राजदूतावासको सुरक्षामा खटिएका १५ जना नेपाली र केही भारतीय सुरक्षागार्डको आत्मघाती बम आक्रमणमा परी मृत्यु भएको थियो।

मृतक नेपाली सुरक्षागार्डका परिवारका तर्फबाट क्यानडको अदालतमा राहत र क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरिएकोमा त्यहाँको सरकारले सहमतिमै मुद्दा टुङ्गो लगाएको क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन अन्तरगतको न्यूजपोर्टल सीबीसी न्यूजले जनाएको छ।

Advertisement

उक्त आक्रमणमा परी घाइते भएका सुरक्षागार्ड र मृतकका विधवा पत्नीले दुई करोड डलर क्षतिपूर्ति दावी गर्दै दुई वर्षपहिले मुद्दा दर्ता गराएका थिए।

अफगानिस्तानमा आफ्ना कुटनीतिज्ञ र कुटनीतिक नियोगको सुरक्षाका लागि क्यानडा सरकारले सम्झौता गरेको कम्पनीले आफ्ना पूर्वकर्मचारी र तिनका परिवारमध्ये केहीलाई ज्यादै थोरै रकम राहत दिएको थियो भने केहीलाई कुनै राहत दिएको थिएन। त्यसपछि पीडित परिवारले क्यानडामै त्यहाँको सरकारविरूद्ध मुद्दा हालेका थिए।

Advertisement

क्यानडाको भ्यानकुभरमा कानूनी अभ्यास गर्दै आएका पीडितका वकील जो फियोरेन्टेले क्यानडा सरकार र पीडित परिवारबीच सहमति भएको सीबीसी न्यूजसँग पुष्टि गरेका छन्। तर, उनले नेपालमा पीडितका परिवारलाई असर पर्नसक्ने भन्दै सहमतिका शर्तहरू सार्वजनिक गर्न भने मानेनन्।

उनले सीबीसी न्यूजलाई भनेका छन्, पीडितका परिवार सहमतिप्रति सन्तुष्ट छन् र उनीहरूले क्यानडा सरकारले काबुलमा आफ्नो दूतावासको सुरक्षा गर्दागर्दै नेपाली सुरक्षागार्डले गरेको बलिदानीलाई स्वीकार गर्ने विश्वास गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top