काठमाडौं: कैदीबन्दीलाई कोचाकोच राखिएका कारण जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ। देशभरका जेलमा क्षमताभन्दा ६ हजार कैदीबन्दी बढी रहेको राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनले देखाएको छ। मुलुकभरका ७० वटा जेलमा २४ हजार १ सय ६३ कैदीबन्दी कोचाकोच रहेको भेटिएको छ।
आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा बागमती प्रदेश कार्यालयसमेत संलग्न अनुगमन टोलीले यही असोज १५ गतेसम्म अनुगमन गरेको थियो। ५ सय ६२ कैदीबन्दी कोरोना संक्रमित भई उपचाररत रहेको आयोगले जनाएको छ। १ सय ४६ जना कोरोनामुक्त भएका छन्।
देशभरका जेलमा रहेका कैदीबन्दीमध्ये १ हजार ४ सय ५२ जनामा रुघाखोकी र ज्वरो देखिएपछि पीसीआर परिक्षण गरिएको थियो। तीमध्ये ७ सय ४५ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। कोरोनाका कारण जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा ६ र बाँकेमा १ जनाको मृत्यु भएको छ।
सिरहा जेलमा रहेका ४ सय ८६ जनाको उपचार चलिरहेको छ। यस्तै सदरखोर डिल्लीबजारका ३१ र सुनसरीमा २० जना उपचाररत छन्। केन्द्रीय कारागारमा ५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जना अझै उपचाररत छन्।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकम छापिएको छ ।