पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

५ कात्तिक, कास्की ।

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

“यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाईडिङका लागि यो उपयुक्त ठाउँ हो ।” प्यारा पाइलट टेकबहादुर थापाले भने “प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य सुन्दर देखिन्छ ।” सो मन्त्रालयले प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङ्कोटबाट भैइरहेको प्याराग्लाडिङ रोकिने भएकाले विकल्पमा बलेवालगायतका ठाउँ रोजिएको महाशाखाका प्रमुख डिल्लीराम रिजालले बताए । बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा रहेका वडाध्यक्षलगायत सरोकारवालालाई डाकेर महाशाखाले प्याराग्लाइडिङको लागि उड्ने (टेकअप लिने) र ओर्लिने (ल्याण्डिङ) गर्ने ठाउँको विषयमा छलफल गरेको छ । “पोखराको विकल्पमा हामी पर्नु निकै खुशीको कुरा हो ।” वडा नं. १० का अध्यक्ष प्रेमबहादुर थापाले भने ‘हामी उड्ने र ओर्लिने ठाउँको विषयमा टुङ्गो लगाउँछौं ।”

प्रदेश सरकारले यसअघि परीक्षण सफल भैइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको सोरेमैदान र कास्कीको अर्मालालाई विकल्पको रुपमा राखेर पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।

कालीगण्डकी माथि बनेका पुलका संरचना र धार्मिक पर्यटकीय स्थलहरु यहाँका सहायक घुम्न मिल्ने ठाउँ हुने हुँदा आर्थिक हिसाबले समेत प्याराग्लाइडिङ लाभदायक बन्ने देखिएको छ ।

विमानस्थलको सञ्चालन, कालीगण्डकीमा र्याफ्टिङ र नजिकैको बञ्जी विदेशी पर्यटकका लागि प्याकेज बन्ने भएकाले बलेवामा प्याराग्लाइडिङको व्यावसायिक भविश्य रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.