कास्कीका १,८७४ खरका छाना विस्थापन हुने, प्रतिपरिवार ५० हजारका दरले अनुदान

कास्कीका १,८७४ खरका छाना विस्थापन हुने, प्रतिपरिवार ५० हजारका दरले अनुदान

१४ कात्तिक, कास्की । कास्कीमा चालु आर्थिक वर्षमा एक हजार ८ सय ७४ खरका छाना विस्थापन हुने भएका छन् ।

आर्थिक रुपमा कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको हो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत कास्कीका पाँचवटै पालिकामा चालु आर्थिक वर्षभित्रै एक हजार ८ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अनुदान दिने तयारी छ ।

खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्य एवं जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

कास्कीको निर्वाचन क्षेत्र नं १ मा ८ सय ६, निर्वाचन क्षेत्र नं २ मा ५ सय २३ र क्षेत्र नं ३ मा ५ सय ४५ आवास स्वीकृत गरिएको छ । उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि वडा कार्यालय मार्फत् निवेदन माग गर्ने र वडाहरुबाट सङ्कलित निवेदन कार्यविधि अनुसार लाभग्राही छनोट गर्न सर्वे गरिनेछ ।

सर्भेपछि पालिकाले लक्षित वर्ग तथा परिवारको सूची तयार गरी लाभग्राही छनोटका लागि सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमा पठाउने र इकाइले सुरक्षित नागरिक आवास सहजीकरण समितिमा पेस गरी त्यसले अनुमोदन गर्ने कार्यविधिमा उल्लेख छ ।

माग र सर्वेका आधारमा यस वर्ष छुटेका लाभग्राहीलाई अर्को वर्ष अनुदान रकम उपलव्ध गराइनेछ । सम्झौता लगत्तै जस्तापाता खरिदका लागि पहिलो किस्ता ३० हजार र सम्पन्न भएपछि बाँकी रकम दिइने आयोजनाका प्रमुख झपटबहादुर थापाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.