फिलिपिन्समा सन् २०२० कै विध्वंसात्मक समुद्री आँधीः झन्डै २ करोड मानिस प्रभावित

फिलिपिन्समा सन् २०२० कै विध्वंसात्मक समुद्री आँधीः झन्डै २ करोड मानिस प्रभावित

१७ कार्तिक, एजेन्सी ।
फिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कतिपय ठाउँमा अचानक बाढी आउँदा, हावाहुरीले घरका छानाहरू उडाउँदा र रूख ढाल्दा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार आइतवार बिहान ४ः५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर वेगसहित क्याटानडुएस टापुमा आँधी बजारिएको थियो। हुन त त्यसयता समुद्री आँधी कमजोर हुँदै गएको छ। तर लुजोन टापुमा त्यसले अझै क्षति निम्त्याइरहेको छ।

झन्डै २ करोड मानिस प्रभावित

राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो निवासबाट विपद्‌ व्यवस्थापनको दिशामा भइरहेका कामलाई नियालिरहेको उनका प्रवक्ताले जनाएका छन्।

फिलिपिन्सको राष्ट्रिय विपद्‌ व्यवस्थापनसम्बन्धी निकायका एक अधिकारी मार्क टिम्बलका अनुसार आँधीको बाटोमा पर्ने क्षेत्रका एक करोड ९० लाख मानिस प्रभावित भएका छन्।

एक करोड ९० लाख जनसङ्ख्या बाढी, हावाहुरी, पहिरो लगायतको जोखिममा छ, उनले भने। फिलिपिन्समा सन् २०१३ मा छ हजार व्यक्तिको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन्।

राजधानी मनिलास्थित बीबीसी संवाददाता होवार्ड जोन्सनका अनुसार समुद्री आँधीको आगमनसँगै सम्पर्क विच्छेद भएको क्याटानडुएस टापुमा पर्ने भिराक नगरका करिब ७० हजार बासिन्दाको अवस्थाबारे चिन्ताहरू व्यक्त भइरहेका छन्।

एल्बे प्रान्तमा एक पाँच वर्षीय बच्चासहित सात जनाको मृत्यु भएको विवरणमा जनाइएको छ।

विद्युत अवरुद्ध

शक्तिशाली आँधीका कारण क्वेजोन प्रान्तका १० वटा शहरमा विद्युत्‌ आपूर्ति अवरुद्ध भएको छ।

फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा जति आँधी आउने गरेको बताइन्छ। तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण पूर्वतयारी पनि प्रभावित भएको अधिकारीहरू बताउँछन्।

आँधीले पुर्‍याउन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै तीन लाख ४७ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। एक रक्षा अधिकारीले समाचार संस्था एएफपीलाई भने, कोरोनाभाइरस महामारीका कारण उद्धार तथा स्थानान्तरण गर्ने कार्य पनि जटिल हुन पुगेको छ।(बीबीसी)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.