१७ कात्तिक, काठमाडाैँ ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किसोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफु २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफु पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताए ।
साेमबार काठमाडौंम आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायीक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफुलाई बिजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे। उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । आफुलाई भावि अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकालाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडी आउने विश्वास गरेको बताए।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन्। प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।
महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो । प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ ।
