२६ कार्तिक सुनसरी।
कोरोना संक्रमणका कारण तीन दिनको अघिपछि एक दम्पतीको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–१४ विजयपुरमा पत्नीको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान पतिको पनि मृत्यु भएको हो । उनीहरू दुवै जना होम आइसोलेसनमा थिए ।
उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृत्यु भएको थियो ।
उनलाई कोरोनाको लक्षण देखिएपछि २१ गते स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिँदा उनको मृत्यु भइसकेको थियो ।
त्यस्तै ७४ वर्षीय पतिको २१ गते स्वाब संकलन गरिएकोमा दुई दिनपछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि पुर्याइए पनि खासै सुधार नभएपछि परिवारले घरै फर्काएको थियो ।
दम्पतीमा यसअघि कुनै पनि पुरानो स्वास्थ्य समस्या नरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।