भेरीखोला मुहानमा ११ मृत गाई फेला

५ मंसिर ७७, शनिबार

५ मंसिर, बैतडी ।

जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिए ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासी सीता साउँदले बताए । उनले भने, “पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।”

Advertisement

नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजीकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । “गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ”, स्थानीयवासी प्रेम साउँदले भने, “पानीको मूहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।”

मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकालाई खानेपानीको समस्या भएको छ । मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिइन् । उनले भनिन्, “बाटामा कतै नछाड्ने शर्तमा उनीहरुले गाई लगेका हुन् ।”

Advertisement

पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “प्रहरी टोली जाँदैछ, अनुसन्धान गर्छौं, हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुन्छ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top