ओलीको साथ छाड्दै नेताहरु (भिडियो सहित)

ओलीको साथ छाड्दै नेताहरु (भिडियो सहित)

९ पुष, काठमाडौं । विधीवत फुटको औपचारिक घोषणा नजिक पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्दै गएका छन् ।

एकलौटी ढंगले थपिएका ५ सय ५६ केन्द्रीय सदस्यहरु मध्येबाट झण्डै दुई दर्जन नेताले अध्यक्ष ओलीको संसद विघटन गर्ने, केन्द्रीय सदस्य निर्णय थप गर्ने सहितका कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साथ छोडेका हुन् । ओली समूहले थपेका २१ केन्द्रीय समिती सदस्यहरुले विस्तारित केन्द्रीय समितीमा बस्न अस्विकार गरेका छन् । पार्टी विभाजनले जनता रोइरहेको अवस्थामा ओली समूहले दिएको पदको लोभ आवश्यक नभएको भन्दै केन्द्रीय सदस्यहरुले पद बहिस्कार गरेका हुन् । प्रचण्ड–माधव समूहसँग तित्तता बढेपछि अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मंगलबार तत्काल ५५६ जना थप गरे । बाँकी १९७ पछि थप्ने निर्णय गर्दै ओलीले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरे । त्यसको वैधानिकताका लागि निर्वाचन आयोगमा पुगे । त्यहिँबाट पार्टी फुटको औपचारिकता सुरु भएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै ओली समूहले दिएको पद बहिस्कार गरेका हुन् । पार्टीमा आवश्यक छलफल नै नगरी एकलौटी ढंगले केन्द्रीय सदस्यमा मनोनित गरेको भन्दै पद अस्वीकार गर्ने नेताहरुको संख्या थपिँदै गएको छ । ओलीले पार्टीमा बहुमत देखाउन केन्द्रीय सदस्यमा मनोनित गरेको उनिहरुको आरोप छ । प्रदेश नं १ सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले फेसबुकमा लेखेकी छिन्– बिश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रिय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन । यस्तै प्रदेश १ की सांसद तथा नेकपा नेतृ उषाकला राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘यो बीचको विकसित राजनीतिक परिघटनामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नुभएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु । तर मेरा ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ भएको छु । त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य नरहेको सबैमा अनुरोध गर्दछु ।’

यसरी ओली समूहले मनोमानी रुपमा आफुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको भन्दै पद अस्विकार गर्नेहरुमा ताप्लेजुङबाट डम्बरध्वज तुम्बाहाम्फे, झापाका गोपाल बुढाथोकी, बाराका सुन्दर विक, प्रदेश २ सदस्य कमलेश झा र कल्याण चौधरी, लुम्बिनी प्रदेश सदस्य भगवती भण्डारी, नवलपरासीका बृहस्पति, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरी छन् । यस्तै अमरबहादुर डाँगी, दाङका टीकाराम खड्का, रुपन्देहीका नेत्र पन्थी र नन्दकिशोर ढकाल, पाल्पाका देवी बस्याल र कमल श्रेष्ठ, अछामका यज्ञ वोगटि रहेका छन् । यस्तै अशोक शाही, अछामका भैरे कामी, खोटाङका राम दंगाल, गुल्मीका गगन विष्टले पनि ओली समूहले दिएको नेकपा केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् । प्रचण्ड–माधव समूहमा नेकपाका बहुमत केन्द्रीय सदस्य रहेको र उनिहरुले आफूलाई कारबाही गर्ने सुइँको पाएका ओलीले आफुखुशी केन्द्रीय समिती विस्तार गरि त्यसलाई वैधानिकता दिन चाहेको आरोप लागिरहेको छ । लगत्तै अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरुको वैठकले ओलीलाई अध्यक्ष पदबाट बर्खास्त गरि माधव नेपाललाई अध्यक्ष पनि बनायो । उक्त समूहले पनि नेकपाको वैधानिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै आपत्ती जनाउँदै ओली समूह छाड्ने नेताहरु निकै छन् । त्यसमाथि पार्टी एकता जोगाउनुको साटो आफ्नो बहुमत पुर्याउने चक्करमा आफुखुशी केन्द्रीय सदस्य चयन गरेको भन्दै मनोनित केन्द्रीय सदस्यहरुले नै ओलीको साथ छोडिरहेका छन् । केन्द्रीय सदस्य मनोनित हुने नेतृ उषाकला राईले नै ओली समूह छाडी प्रचण्ड–माधव समूहलाई साथ दिएकी छिन् । केन्द्रीय सदस्य बहिस्कार गर्ने अधिकांश सदस्यहरुको गुनासो ओलीको कार्यशैली र त्यसले निम्त्याएको परिस्थती मै छ । नेता गगन विष्ट लेख्छन्–दुर्भाग्यपूर्ण अवस्थामा बधाई खाने म योग्य पात्र होइन । यस्तै पार्टी विभाजनलाई प्रश्रय दिएकोमा असन्तुष्टि जनाउँदै गोपाल बुढाथोकी लेख्छन्– कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् जनतालाई धरधरी रुवाएर जनताले परिवार भन्दा बडी मायागरेको पाटी फेरि विभाजित गरे । उनले फेरि लेखेका छन्–मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन । पूर्व एमालेका माधव नेपाल, झलनाथ खनाल जस्ता प्रभावशाली मानिएका नेताहरुले ओलीको साथ त छोडेकै थिए, अब विस्तारित केन्द्रीय सदस्यहरुले समेत ओलीको कार्यशैली र पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै पद बहिस्कार गरेका छन् । यसले केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदैन र ? पार्टी भित्रको कलह समाधान गर्न नसकेको आरोप उनिमाथि नै लागिरहेको अहिलेको अवस्थामा पूर्व एमाले र ओली समूह कै मानिएका नेताहरुको असन्तुष्टि बढ्दै जाँदा असन्तुष्टि सम्बोधनका लागि प्रयास गर्छन् या उनी पिलोलाई निचोर्दा तौल नघट्ने भन्दै बसिरहन्छन् त्यो भने हेर्न बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.