१२ पुष, संखुवासभा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समूह) र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएको छ ।
चैनपुर–४, मैदानेमा विप्लव समूहका माओवादी र प्रहरीबीच गोली हानाहान भएको हो । विशेष सुराकीका आधारमा गएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाउन थालेपछि प्रहरीले समेत जवाफी फाइरिङ गरेको जनाइएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राई लगायतका व्यक्ति मैदानेमा लुकेर बसेको सुचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । सादा पोशाकका प्रहरी उनिहरु बसेको स्थानमा पुगेपछि घर पछाडिको जंगलमा लुकेर बसेका समूहका कार्यकर्ताले गोली चलाएको जनाएको छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो । गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएको जनाइएको छ ।