राष्ट्रपति सीको सन्देश सुनाएर फर्कियो चिनियाँ टोली

१५ पुस ७७, बुधबार
Share this
742shares

१५ पुस, काठमाडौँ ।
सत्तारुढ नेकपा विवाद सुल्झाउने उद्येश्य लिएर चारदिने भ्रमणका लागि आइतबार नेपाल आएको चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ ।

Advertisement

एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको नेकपालाई पुनः एकतामा बदल्ने मिशनका साथ आएपनि सफलता हात पार्न नसकी टोली फर्किएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोमा रहँदै आएको नेकपा दुई भागमा विभक्त भयो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जिनपिङको एकता सन्देश लिएर टोली आएको थियो ।

Advertisement

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको तीन सदस्यीय टोलीले आएकै दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

भोलिपल्ट सोमबार चिनियाँ टोलीले विभाजित नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भिन्दाभिन्दै भेट गर्‍यो ।

Advertisement

सोही दिन विघठित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा तथा पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो ।

मंगलबार चिनियाँ टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फरक सन्देश दिन खोज्यो । बुढानिलकण्ठमा चिनियाँ टोलीले देउवासँग भेट गर्‍यो ।

नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएका बेला त्यसलाई उनीहरुले खण्डन गर्दै नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदान जस्ता विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको स्पष्ट पारेको छ ।

त्यस्तै चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारूढ र विपक्षी दलका नेताहरूलाई दिएको बुझिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top