विराटनगर,जेठ १७
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । सुनकाण्डका मुख्य अभियुक्त मानिएका खत्रीको खोजीमा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएपछि बिहीबार उनले आत्मसमर्पण गरेका हुन् ।
खत्रीको अदालतका न्यायधिस नारायण शर्माको इजलासमा बयान जारी छ । बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले तस्करीमा आफुभन्दा पनि एसएसपी खत्रीलाई धेरै तथ्य जानकारी रहेको बयान अदालतमा दिएका थिए । उनले खत्री पक्राउ परेपछि तस्करीको सबै सञ्जाल खुल्ने बयानमा उल्लेख गरेका छन् ।
विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा खत्रीले ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान छ । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेकोमा भरियालाई खत्रीको योजनामा प्रहरीले पास उपलब्ध गराउने विनाचेकजाँच उनकै कार्यकक्षमा सुन पुगेर त्यहाँबाट बाहिरिने गरेको थियो ।
खत्रीकोमा छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे ।
सुन तस्करीको अनुसन्धान गरिरहेको गृहमन्त्रालयको छानविन समितिले तस्करमिा नाम मुछिएपछि बयानको लागि बोलाउँदा खत्री फरार भएका थिए । खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई अदालतले सफाई दिएको थियो । पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२र०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसबेला नै गोरेले तस्करीको सेटिङ मिलाएको देखिएको ।
सुन काण्डमा ६ जना प्रहरी अधिकृतसहित २९ जना पुर्पक्षको लागि जेल चलान भएका छन् भने ३२ जना अझै फरार छन् । पछिल्लो समयमा पक्राउ परेका गोरेले दिएको बयानको आधारमा थप व्यक्तिहरु पनि पक्राउको सूचीमा रहेको स्रोतले जनाएको छ ।