१७ वटा शव ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज क्वालालम्पुर जाँदै

१७ वटा शव ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज क्वालालम्पुर जाँदै

९ माघ, काठमाडौँ । मलेसियाको क्वालालम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए३३० क्वालालम्पुर पठाउँदैछ ।

यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भइरहेको थियो । मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका थिए ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

‘मलेसियामा अड्किएका शव नेपाल ल्याउनकै लागि हामी वाइडबडी जहाज पठाउँदैछौं,’ उनले भनिन्, ‘राष्ट्रिय ध्वजाबाहक वायुसेवाका रुपमा यो हामीले गर्ने समाजसेवाको एक अंशका रुपमा लिएका छौं ।’

मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने कार्यक्रम छ ।

जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा भने १२ जना यात्रु मात्र रहनेछन् । विदेशमा समस्यामा परेका नेपाली होस वा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउने क्रममा ध्वजबाहक कम्पनीका रुपमा नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.