१० माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले जनयुद्धका क्रममा खेलेको भूमिकाको प्रशंसा गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँगको भेटघाटमा नेकपा अध्यक्ष रहेका ओलीले जनयुद्धमा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
ओलीले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग र्गयो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’
ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए ।