खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

Share this
682shares

११ माघ, बेइजिङ।

Advertisement

चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् । खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रसारण संस्था सिसिटिभीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो । योसहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ । हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६०० मिटरको गहिराइमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए । यो खानीस्थल पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा छ ।

Advertisement

आइतबार अघिसम्म उद्धारकर्ताहरुले खानीभित्र फसेका १० जना मजदूरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए । उद्धारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए । खानीभित्र हराइरहेका अरु व्यक्तिको खोजी एवं पहिचान गर्नका लागि डिटेक्टर र पोषक तत्वहरु पनि पठाइएको छ ।

खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरु बढ्ने अवस्था रहेको उद्धारकर्ताहरुको भनाइ छ । खानीभित्र अलपत्र परेका नौ जनाको जीवन जोगाउन निकै मुश्किल देखिएको पनि उद्धारकर्ताहरुले बताएका छन् ।

Advertisement

चीनमा खानी दुर्घटनाका घटनाहरु नियमित झैं देखिएका छन् । खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायहरुले पनि बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । गत डिसेम्बरमा पनि चोङकिङको खानीमा सुरुङभित्र चेपिएर २३ जना मजदूरको ज्यान गएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top