मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस

मीरा राईको सम्मानार्थ मुन्दुम अल्ट्रा ट्रेल रेस

भोजपुर, जेठ २४
विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ ।

राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टुँडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४ पुरुष गरी ८१ जनाको सहभागिता रहने आयोजकले जनाएका छन् ।

रेसमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमश रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

त्यस्तै, सामूहिकरुपमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु १० हजार, रु आठ हजार, रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन भने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी, तिम्मा सरोकार मञ्च काठमाडौँ र दाँवाली मिलन क्लबले गरेको छ ।

त्यस्तै, प्राविधिक सहयोग नेपाल माउण्टेन स्काइ रनिङ एशोसिएशनले गरेको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.