जोनसन एन्ड जोनसनको कोरोना खोपः एकै मात्रा लगाउँदा हुने खोप सुरक्षित र प्रभावकारी

१३ फागुन, एजेन्सी ।
अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ।

सम्भवतः केही दिनभित्रै अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ। यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुनेछ।

यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ। जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो।

Advertisement

उक्त औषधि उत्पादकको मालिक बेल्जियन कम्पनी जोनसनले परीक्षण नतिजाको विवरणले उसको उत्पादन गम्भीर रोगका लागि उच्च प्रभावकारी भएको देखाएको बताएको थियो।

जोनसन एन्ड जोनसनबारेको यो नयाँ खबर कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने घाना पहिलो देश बनेका बेला आएको हो। यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रकाशित गरेको विवरण पुस्तिकाले उक्त नियामकसमक्ष जोनसन एन्ड जोनसनले पेस गरेका विस्तृत विवरणहरूको जानकारी दिन्छ।

Advertisement

एफडीएको निष्कर्ष छ– लक्षण देखिएका र गम्भीर बिरामीलाई रोग घटाउन जोनसन एन्ड जोनसनको खोपका देखिने फाइदाहरू पाइएका छन्।

अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा भाइरसको सबैभन्दा खराब परिणाममा प्रभावकारिता उस्तैखाले उच्च रहेका थिए।

तर दक्षिण अफ्रिका र ब्राजिलमा समग्रमा रोगबाट बचाउने कुरामा यसको प्रभावकारिता कम देखिएको थियो किनकी त्यहाँ नयाँ प्रकारका कोरोनाभाइरसहरू देखिएका छन्।

परीक्षण विवरणले गम्भीर बिरामीलाई बचाउनका लागि उक्त खोप ८५ प्रतिशत प्रभावकारी रहेको देखाएको छ।

तर समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ। समग्रमा गरिएको परीक्षण नतिजामा खोप लगाएको २८ दिनपछिका मानिसहरू र सामान्यखाले लक्षण भएका मानिसहरूलाई हेरिएको थियो।

खोप लगाएको २८ दिनपछि सहभागीमध्ये कसैको पनि निधन भएन भने कोही पनि अस्पताल भर्ना हुनु पनि परेन। विज्ञहरूको एउटा बाह्य समितिले शुक्रवार एफडीएले यो खोपलाई आधिकारिकता दिनुपर्छ कि पर्दैन भनेर सुझाव दिनेछ।

ह्वाइट हाउसका एक जना अधिकारीले बाइडन प्रशासनले आगामी साता कम्तिमा ३० लाख मात्रा जोनसन एन्ड जोनसनको खोप बाँड्ने अनुमान गरेका छन्।

कम्पनीले मार्च अन्त्यसम्ममा २ करोड मात्रा खोप आपूर्ति गर्ने योजनामा रहेको जनाएको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top