१५ फागुन, काठमाडौं ।
नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले संसदमा आवश्यक परे त्यो देखाउन आफू तयारी अवस्थामा रहेको बताए।
उनले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ।आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं। उहाँको पक्षमा सयभन्दा बढी सांसद छन्।’
उनले प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि बताए।संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनले सुनाए । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए । उक्त बैठकमा सहभागी हुनको लागि दाहाल-नेपाललाई पनि उनले आग्रह गरे। तत्काल नआए पनि केही नगर्ने उनले जनाए। तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनले चेतावनी दिए ।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे। उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे।
निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए।